१० वर्ष पछि जेलबाट निस्किने बित्तिकै फेरि अपराध
- काठमाडौं, १८ फागुन ।
'मैले जानेको काम नै यही हो। मलाई ठग्न रमाइलो लाग्छ। ठग्न सक्दा आनन्द आउँछ ' निर्मलजंग शाहीले यसो भनेपछि महानगरीय अपराध महाशाखाका प्रहरी छक्क परे। अपराधीले सुरुमा अपराध स्वीकार गर्दैनन्। तर सुर्खेतका ४२ वर्षिय शाहीले गर्वसाथ अपराध स्वीकार गरे।
'यस्ता अपराधी कम नै भेटिन्छन् जो अपराध गर्नुमा गर्व गर्छन्', अपराध महाशाखाका प्रमुख दिनेश अमात्यले भने। यसअघि दुईपटक गरी साढे नौ वर्ष जेल बसेका शाही गत असारको अन्तिममा छुटेका थिए।
उनी यसअघि पनि दुई पटक ठगी मुद्धामै दुई वर्ष ६ महिना र सात वर्षगरी साढे नौ वर्ष जेल परेका थिए। प्रहरीले शाहीलाई ‘मास्टरमाइन्ड ठग' उल्लेख गरेको छ। पछिल्लो पटक दर्जनौं ट्याक्सी चालकले आफु ठगिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। ‘यसअघि पनि हामीले नै समातेका कारण उसको तस्विर हामीसँग थियो। हामीले पिडितलाई शाहीको तस्विर देखाउँदा पिडक उही भएको निष्कर्शमा पुग्यौं' अमात्यले भने। सात वर्ष जेल बसेर गत असारमा छुटे लगत्तै शाहीले ठगीलाई पुन निरन्तरता दिएको प्रहरीले जनाएको छ।
यसरी गरे ठगी
शाहीले राजधानीका ट्याक्सी चालकलाई विश्वासमा लिन्थे। चालकसामु आफुलाई निकै विश्वासिलो स्थापित गर्थे। उनको हात र गलामा सुनको जस्ता देखिने गहना ठूलो परिमाणमा हुन्थ्यो। उनले ट्याक्सी चालकलाई विश्वासमा लिन सबै उपाय अपनाउँथे। त्यसपछि आफ्नो सामान विदेशबाट आएको र विमानस्थलमा लिन जानुपर्ने बताउँथे।
आफुसँग भन्सार तिर्न नेपाली पैसा नभएको भन्दै ट्याक्सी चालकसँग पैसा माग्थे। ‘सुरुमा ट्याक्सी लिएर घर जाने रहेछ। ट्याक्सी चालकलाई बाटोमा राखेर आफु एउटा गल्लीमा छिर्ने र एकछिनपछि श्रीमती घरमा नरहेको बहाना बनाएर फर्कने रहेछ।
त्यसपछि ट्याक्सी चालकसँगैं पैसा माग्ने र विमानस्थलतर्फ गएर बेपत्ता हुने रहेछ', अमात्यले भने। अमात्यले यसरी एउटा ट्याक्सीबाट २० देखी ४० हजार रुपैयाँसम्म पैसा लिएको प्रहरीले जनाएको छ। शाहीले डान्सबार, दोहोरीमा जाने र युवतीहरुसँग रमाउने आफ्नो रहर नै भएको र त्यसका लागि ठगी गरेको बताएका छन्।
होटलमा बसेर ठगी गर्दै आएका शाहीले ३० हजार रुपैयाँले आफुलाई तीन दिनमात्र पुग्ने गरेको पनि बताएका छन्। ‘मलाई एउटा ट्याक्सी चालकबाट ठगेको पैसाले दुईदेखि तीन दिनसम्म पुग्छ। मेरो सबै पैसा युवतीहरुसँग बस्दा र डान्सबार जाँदा सकिन्छ' शाहीको भनाई उदृत गर्दै प्रहरी नायब उपरिक्षक सन्जय थापाले भने।
प्रहरीसँग शाहीले आफु अविवाहित रहेको र आफ्नो कोही नभएको बताएका छन्। केही वर्ष भारतमा राइस मिलमा काम गरेको र त्यसपछि नेपालमा आएर कुरियरमा काम गरेको उनको भनाई छ। ‘ कुरियरमा काम गर्न थालेपछि डान्सबार र दोहोरीमा जाने आदत बन्यो। त्यसपछि खर्च धान्न ठगी सुरु गरें', प्रहरीसामु शाहीले भनेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
प्रतिकृया दिनुहोस्
Loading...