आजदेखि २० वर्ष पुराना गाडी चलाए कारबाही हुने

  • काठमाडौं, १८ फागुन
सरकारले बुधबारदेखि काठमाडौं उपत्यकामा २० वर्ष पुराना भाडाका गाडी चलाएको भेटिए कारवाही गर्ने भएको छ । 

वातावरण प्रदुषण गरेको, ट्राफिक व्यवस्थापनमा समस्या थपेको तथा सडक दुर्घटनाको मुख्य कारण पुराना गाडी भएकाले विस्थापित गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । 

मंगलबारसम्म पुराना गाडीको कर तिरेर कवाडी बनाउन सर्वसाधारण नागरिकलाईसचेत गराइएकाले बुधबारदेखि पुराना गाडी चलाएको भेटिए विभागले जफत गरेर गाडी धनीलाई कारवाही पनि गर्ने विभागले जनाएको छ । 

विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेका अनुसार बिहीबारदेखि पुराना गाडीको नवीकरण, रुट इजाजत, दर्ता र कर उठाउने प्रक्रिया बन्द गरिने छ । पहिलो चरणमा उपत्यकामा रहेका झण्डै २५ सय देखि ३ हजार २० वर्षे पुराना गाडी हटाउन लागिएको विभागका सवारी तथा सवारी चालक नियमन शाखाका अधिकृत अर्जुन रिजालले बताए । 

उनका अनुसार उपत्यकाका पुराना गाडी हटाएपछि अर्को वर्षको फागुन मसान्तसम्ममा देशभरीबाटै पुराना गाडी हटाइनेछ । यस्तै भाडाका गाडी हटाएपछि विस्तारै निजी र पर्यटक चढ्ने पुराना गाडी पनि हटाइने उनले बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुराना गाडी हटाउने जिम्मा यातायात व्यवस्था विभागलाई दिएको हो ।

,

प्रतिकृया दिनुहोस्

Loading...