माग पूरा नभएसम्म पत्रकार महासंघ काठमाडौं शाखामा लागेकाे ताला नखुल्ने


माग पूरा नभएसम्म नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यालयमा जारी तालाबन्दी नखोल्ने संघर्षरत पक्षहरुले बताएका छन् ।

सोमबार तालाबन्दीबारे संघर्षरत पक्षहरुको तर्फबाट बुँदागत माग प्रस्तुत गर्दै पत्रपत्रिका मञ्च देवेन्द्र चुडालले सो जानकारी दिएका हुन् । चुडालले ७ बुँदे मागपत्र शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईँलाई बुझाएका छन् ।

शाखा अधिवेशनलाई दलीय स्वार्थमा प्रभावित पार्ने र क्रियाशील पत्रकारलाई निषेध गर्ने उद्देश्यले प्रक्रियाविपरीत शाखा सचिव रामकृष्ण अधिकारीले कीर्ते कागजात बनाई महासंघ केन्द्रमा सदस्य स्थानान्तर चिठी पेस गरेको र त्यसलाई महासचिव इन्द्रमान बुढा (उजिर मगर)ले स्वीकृत गरेर विधानलाई उल्लंघन गरेका कारण तालाबन्दी गर्नु परेको संघर्षरत संगठनका प्रतिनिधिहरुले बताए ।

सो शाखा र महासंघ केन्द्रबाट भएको विधान उल्लंघन गर्ने पदाधिकारीमाथि छानबिन र दोषीलाई विधानबमोजिम कारवाही नभएसम्म तालाबन्दी जारी रहने उनले बताए । माग सम्बोधन नभएसम्म शाखामा अधिवेसन हुन नसक्ने प्रेस चौतारीका विष्णु आचार्यले बताए । ‘नयाँ सदस्यता र स्थानान्तरणको विषय नसुल्झिएसम्म चुनाव हुन दिँदैनौं’ आचाले भने ।


त्यसैगरी क्रान्तिकारी पत्रकार संगठन नेपालका रामशरण माझीले शाखाका सचिव अधिकारी र केन्द्रका महासचिव मगरले गरेको गल्ती नसच्याएसम्म र गल्ती नदोहोर्याउने लिखित प्रतिवद्धता नआएसम्म तालाबन्दी कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले भने ‘गलत तरिकाबाट गरिएको सदस्यता स्थानान्तरण र नयाँ सदस्यताको विषय टुंगो नलागेसम्म अधिवेसन हुनै सक्दैन ।’

त्यस्तै प्रेस युनियनका भुपेन्द्र आचार्यले केन्द्रका सर्कुलरविपरीत माघ १५ भन्दापछाडि नियतबस काठमाडौंमा शाखामा स्थानान्तरण गरिएका सम्पूर्ण सदस्यतालाई तत्काल खारेज गर्न माग गरे ।

मागपत्र बुझ्दै शाखा अध्यक्ष चौलागाईँले संघर्षरत पक्षहरुको माग सही भएको र माग छिटोभन्दा छिटो पूरा गर्न आफूले पहलकदमी लिने बताए । शाखाको तालाबन्दी समस्याबारे आफूले बारम्बार केन्द्रलाई जानकारी दिइरहेको र तर केन्द्रले गम्भीरतापूर्वक नलिएकोप्रति गुनासो व्यक्त गरे । क्रियाशील र उदयीमान पत्रकारलाई नयाँ सदस्यताबाट वञ्चित नगरिने भन्दै न्याय मिल्ने कुरामा विश्वस्त हुन पनि उनले आग्रह गरे ।


डेढ हप्तादेखि तालाबन्दीसहित संघर्षरत पक्षसँग वार्ता गर्न शाखा कार्यसमितिले अध्यक्ष चौलागाईँलाई जिम्मेवारी दिएयता आजको औपचारिक छलफलमा मागपत्र प्रस्तुत भएको हो । मागपत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रलाई पनि दिइएको छ ।

शाखा सचिव अधिकारीले नयाँ सदस्यता वितरणमा गैरपत्रकारलाई काखी च्याप्ने र अध्यक्षलाई थाहै नदिई शाखामा ५० जनाभन्दा बढीलाई विधानविपरीत विभिन्न शाखा र प्रतिष्ठानबाट सदस्य स्थानान्तरण गरेपछि असन्तुष्ट पक्षहरुल कार्यालयमा तालाबन्दी गरेका थिए । सचिव अधिकारी स्थानान्तरण विषयमा कीर्ते धन्दामा लागेपछि कार्यसमिति र बाहिर चौतर्फी रुपमा आलोचित भएका छन् ।

२०७३ चैत्र ७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...