बगरमा परिणत भएको जमिन पुनः खेतीयोग्य बनेपछि.....

  • सिन्धुली, ३० फागुन । 

जिल्लाको विभिन्न नदी तथा खोलाले कटान गरेर बगरमा परिणत भएको करिब ५०० हेक्टर खेतीयोग्य जमिन पुनः खेतीयोग्य भएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको सहयोगमा विभिन्न नदी तथा खोलामा तटबन्ध गरिएपछि बगरमा परिणत भएको जग्गा अहिले खेतमा परिणत भएको हो । सो कार्यालयको मझौला नदी नियन्त्रण कार्यक्रमअन्तर्गत कमला नदीको १४ वटा स्थानमा, मरिनमा १२, तावामा दुई, चदाहा खोलामा दुई तथा सुनकोसी नदीको कुशेश्वरधाम क्षेत्रको दुईवटा स्थानमा तटबन्ध गरिएको कार्यालयले जनाएको छ । 

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको रु तीन करोड १० लाख लागतमा उक्त जमिनलाई खेतीयोग्य बनाइएको हो । बगरलाई खेतीयोग्य जमिन बनाइएपछि करिब एक हजार २०० घरपरिवार लाभान्वित हुने बताइएको छ । 

त्यस्तै कमला नदी नियन्त्रण १४ वटा कार्यक्रमअन्तर्गत एक हजार ८८ वटा जालीका लागि रु ८० लाख बजेट उपलब्ध गराइएको थियो । तटबन्ध गरेपछि यस वर्षबाट खेतीयोग्य जमिन कटानको समस्या टरेको छ । यहाँका करिब ३०० घरधुरी लाभान्वित हुने छन् । 

जिल्लाका ठूला तथा मझौला नदीले खेतीयोग्य जमिन कटान गर्ने समस्या रहेका स्थानलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको डिभिजन कार्यालयका इन्जिनियर सुदानन्द झाले बताए।

,

प्रतिकृया दिनुहोस्

Loading...