मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने

  • गोरखा, ७ चैत ।

पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । 

मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिने बताए । काठ अभाव टार्न पुरानै काठको प्रयोग भइरहेको छ । 

पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्व बोकेको मन्दिर भएकाले पुरातत्व विभागका इन्जिनियर तथा प्राविधिक कर्मचारीको प्रत्यक्ष अवलोकन तथा अनुगमनमा मन्दिर पुनःनिर्माण अघि बढाइएको छ । विसं ०७२ साउनदेखि मन्दिर पुनःनिर्माण सुरु गरिएको थियो । एक वर्षभित्रमा मन्दिरको एक तला निर्माण सकिएको हो ।

०७४ सालभित्रमा मन्दिरको पुनःनिर्माण सक्ने र धर्मावलम्बीलाई पूजाअर्चनाका लागि खुल्ला गरिने श्रेष्ठले बताउनुभयो । पुरानो मन्दिर भत्काएपछि मन्दिर अघि रहेको खुल्ला ठाउँमा टहरो बनाएर पूजाआजा गरिँदै आइएको छ । 

०६८ मा पुरातत्व विभागले गरेको अध्ययन अनुसार मन्दिर पुनःनिर्माणमा रु आठ करोड लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ । मन्दिर निर्माण सक्न कम्तीमा रु १४ करोड आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ । मन्दिर निर्माण गर्न सरकारले करिब रु चार करोड दिएको थियो भने भक्तजनबाट अहिलेसम्म करिब रु पाँच करोड ५० हजार सङ्कलन भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...