मुख्य सचिव सुवेदीलाई कारवाही गर्न कर्मचारीहरुको माग

  • काठमाडौँ २ चैत्र । 
राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी संगठनले बुधबार प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै सो माग गरेको हो । 

केही दिनपहिले मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एसियाली विकास बैंकको वैकल्पिक कार्यकारी निर्देशकको रुपमा पठाउने निर्णय गरेपछि कर्मचारी वृत्तबाटै चर्को विरोध सुरु भएको छ । 

मुख्यसचिव सुवेदी एडीबीमा जागिर खान जाने कुराले सिंगो कर्मचारीको अपमान भएको भन्दै महासंघले तत्काल निलम्बन गर्न ध्यानाकर्षणमार्फत माग गरेको हो ।

निगम पुँजीवादको प्रतिनिधित्व गर्ने संस्थमा जागिर खान जाने सुवेदीलाई राष्ट्रियता र सार्वभौमिकताको माया र रक्षाभाव नहुने भन्दै पलायनवादीको संज्ञा दिइएको छ । 

‘राष्ट्रसेवक कर्मचारीलाई डीभी, पीआर तथा विदेशी स्थायी अनुमति पत्रलाई बन्देज गर्ने तर बहालवाला मुख्य सचिव आफैं पलायन हुने कार्यले निजामती प्रशासनको धज्जी उडाइएको छ’ महासंघका अध्यक्ष गोपालसिंह धामी र महासचिव अमर सिंह ओलीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

महासंघले एडीबीमा सुवेदीले खाने जागिर सहसचिव स्तरको भएकोले सोही स्तरका कर्मचारीहरुबीच खुला प्रतिस्पर्धाबाट पठाउन माग गर्दै त्यसनिम्ति आवश्यक कानून बनाउन समेत प्रधानमन्त्रीसँग माग गरेको छ । 

संवेदनशिलता र गोपनियताको हिसाबले सुवेदीले एडीबीमा जागिर खाँदा राष्ट्रियता र सार्वभौमिकतामाथि घात हुने महासंघका अध्यक्ष धामीले अनलाइन डबलीसँग बताए ।

‘नेपाल सरकारको सचिव तथा मुख्य सचिवबाट सेवा निवृत्त भएपश्चात ५ वर्षसम्म संवैधानिक, कुननीतिक तथा सरकारी बाहेक अन्यत्र नियुक्तिको लागि बन्देज गर्न निजामती ऐनमा अविलम्ब संशोधन गर्न माग गर्दछौं’ ध्याकर्षणपत्रमा भनिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...