सप्तरी गोलीकाण्डमा मारिनेका परिवारलाई सरकारले १० लाख दिने

  • काठमाडौँ २६ फागुन।
सप्तरी गोलीकाण्डमा ज्यान गुमाएका परिवारलाई सरकारले १० लाख दिने भएको छ । 

बुधबार साँझ बसेको मन्त्री परिषद् बैठकले सप्तरीको राजविराजमा प्रहरीको गोली लागी मृत्यु भएका परिवारलाई जनही १० लाख रूपैयाँ दिने निर्णय गरेको छ।

बैठकले सप्तरी घटनामा घाइते भएका सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले बताए।

मृतकका परिवारलाई दिइने राहत र घाइतेको उपचार खर्च तत्काल निकासा गर्न बैठकले अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ। 

बैठकले राजविराज घटनाबारे छानबिन गर्न १५ दिनको समय दिएर जाँचबुझ समिति बनाउने निर्णय पनि गरेको छ। समिति गृह मन्त्रालयले बनाउने छ।

बैठकले सप्तरी घटनामा परी मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ।

मन्त्रीपरिषद बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल समेत गरेको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...