कांग्रेस सभापति देउवालाई आफ्ना विश्वास पात्रहरुबाटै यस्तो धोका !
- काठमाडौँ २ चैत ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पछिल्लो समयमा आफ्ना विश्वास पात्रहरुबाट धोका र बद्नामी कमाउनु परेको भन्दै चिन्तित बनेका छन् ।
देउवा निकट स्रोतका अनुसार आफूले बढी विश्वास गरेर मन्त्रीमण्डलमा पठाएका विमलेन्द्र निधि र डा. प्रकाशशरण महतको व्यवहारका कारण आफू बद्नाम बन्दै गएको गुनासो उनले निकटस्थहरुसँग गर्न थालेका छन् ।
आफ्नैहरुको व्यवहारका कारण पार्टीभित्र आफ्नो ‘क्रेज’ घट्दै गएको निष्कर्षमा उनी पुगेको बताइन्छ । खासगरि प्रहरी महानिरीक्षक नियुक्ति र राजदूत सिफारिस प्रकरणमा आफ्नैको साथ सहयोग नपाएको र उल्टै बद्नामी कमाउनु परेको गुनासो देउवाले गर्ने गरेको विश्वस्त स्रोतले बतायो ।
स्रोतका अनुसार राजदूत सिफारिस प्रकरणमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले देउवा–पत्नी आरजु राणालाई हातमा लिएर आफूलाई फसाएको निष्कर्षमा देउवा पुगेको बताइन्छ ।
म्यानपावर व्यवसायी आशा लामा, रमेश कोइरालासँग मन्त्री महतले पैसा बुझेर त्यो पैसा आरजुलाई जिम्मा लगाएको र आरजुको सल्लाहमा देउवाले ती नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको बताइन्छ ।
कांग्रेसबाट प्रस्तावित ती नामबारे जनस्तरबाटै तीव्र आलोचना भएपछि लामाको नाम मन्त्रिपरिषद् बैठकले फिर्ता लिए पनि कोइरालाको नाम भने फिर्ता लिएन । महतसँग भन्दा देउवा उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिसँग झन् रुष्ट रहेको बताइन्छ ।
स्रोतका अनुसार आइजी नियुक्ति प्रकरण अघिसम्म निधि पार्टीको उपसभापतिका लागि चाकडी गर्न भने पनि दिनहुँजसो देउवा निवास बुढानिलकण्ठ पुग्थे । तर, पछिल्लो समय औपचारिक कार्यक्रममा हुने भेटघाट र बोलचाल बाहेक यी दुईबीच न भेटघाट हुन्छ न त बोलचाल नै ।
राजदूत सिफारिस प्रकरणमा पनि निधिले खुलेर देउवाको विरोध गरेपछि उनले बरु शेखर कोइरालालाई उपसभापति बनाउने तर निधिलाई नबनाउने जानकारी निधिको कानसम्म पुर्याइसकेका छन् ।
देउवाको यो सन्देश पाएपछि पद जोगाउनका लागि पनि निधिले अहिले भारत भ्रमण गरेको अनुमान कांग्रेस वृत्तमा लगाइएको छ । ‘म पार्टीबाट नेतृत्व गरेर जाने, मैले नै पार्टीका तर्फबाट प्रस्तावित राजदूतको नाम प्रधानमन्त्रीबाट थाहा पाउनु पर्ने ? संसदीय मान्यता बोक्ने, प्रजातान्त्रिक पार्टी भन्ने पार्टीका सभापतिको यस्तो चाला ठीक भएन’ भन्दै राजदूत सिफारिस प्रकरणमा निधिले देउवाको विरोध गरेको बताइन्छ ।
शेखरलाई उपसभापति बनाउँदा सोही पदका अर्का दावेदार खुमबहादुर खड्काले पनि चित्त बुझाउनसक्ने बताइन्छ ।
त्यति मात्र होइन, अहिले देउवासँग महत र निधि बाहेक बालकृष्ण खाँड, एनपी साउद लगायतका नेता पनि असन्तुष्ट छन् । उनीहरु चाहिँ देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाइ महामन्त्री बनाउने तयारी गरेपछि असन्तुष्ट भएका हुन् ।
आफै चुनाव लडेर जित्न नसक्ने भएपछि समानुपातिकबाट सांसद हुने, पार्टीको केन्द्रीय सदस्यमा पनि खुला तर्फको २५ मध्येमा २० औं स्थानमा जित्ने कार्कीलाई महामन्त्री बनाउन नहुने भन्दै उनीहरुले विरोध गरेको बताइन्छ ।
विगतमा तत्कालीन सभापति सुशील कोइरालाले कृष्णप्रसाद सिटौलालाई महामन्त्रीमा मनोनीत गर्दा देउवाले पन्ध्रौ स्थानमा जित्ने सिटौलालाई किन ? भन्दै विरोध गरेका थिए ।
अहिले खाँड, साउद लगायतका नेताले यहि प्रश्न देउवासँग गरेको बताइन्छ । उनीहरुको प्रश्न छ, ‘विगतमा पन्ध्रौ नम्बरका कृष्ण सिटौलालाई मनोनीत महामन्त्री बनाउन पाइँदैन भनेर हिजो हामीले नै भन्ने, आज २० औं नम्बरका कार्कीलाइ तपाई आफै सिफारिस गर्ने ?’ नेविसंघबाट राजनीति गरेर अहिले राम्रो स्थानसहित केन्द्रीय कमिटीमा आएका खाँड, साउदलगायत आफ्नैले विरोध गरेपछि म थेग्न सक्तिन भनेर देउवाले केन्द्रीय कमिटीको बैठक नबोलाएको स्रोतको दाबी छ ।
महाधिवेशनमा देउवालाई नै साथ दिएका खुमबहादुर खड्का त झन् महाधिवेशनलगत्तै देउवासँग चिढिएका छन् । आफूलाई उपसभापति बनाउने सर्तमा खड्काले देउवालाई समर्थन गरेका थिए । तर, सभापति जितिसकेपछि निधिलाई उपसभापति बनाउने भन्दै च्यापेपछि खड्का रुष्ट भएका हुन् ।
अहिले आफूसँग कुनै सल्लाह नगरी पदाधिकारी सिफारिस भए रामचन्द्र पौडेलसँग मिलेर असफल बनाउने, उनले सिफाारिस गरेका पदाधिकारीसम्बन्धी निर्णय पारित गर्न नदिने योजनामा खुमबहादुर समूह तत्लीन रहेको बताइन्छ । खड्काको यो योजनामा पौडेल समूहले पनि साथ दिने स्रोतको दाबी छ ।
यसरी नै, देउवा र निधिबीचको सम्बन्ध कति तिक्ततापूर्ण भइसकेको छ भने पछिल्लो समयमा भएको मन्त्रीहरुको हेरफेरमा देउवाले निधिलाई ‘चेक’ दिनकै लागि इन्द्रबहादुर बानियाँलाई गृहराज्य मन्त्री बनाएको स्रोतको दाबी छ ।
बानियाँ यसअघि पर्यटन राज्यमन्त्री थिए । उक्त मन्त्रालय राप्रपालाई दिएपछि बानियाँलाइ निधिले सम्हाल्दै आएको गृह मन्त्रालयको राज्यमन्त्री बनाइएको हो ।
ठेकेदार पृष्ठभूमिका बानियाँ देउवाका विश्वास पात्र हुन् । निधिले के–के गर्छ ? ककसलाई भेट्छ ? सबै सूचना बटुल्नका लागि देउवाले बानियाँलाइ गृह राज्यमन्त्री बनाएको चर्चा कांग्रेस वृत्तमा व्याप्त छ ।
प्रतिकृया दिनुहोस्
Loading...