अनलाइन पत्रकार संघका पूर्व अध्यक्षहरु सम्मानित
- काठमार्डौ, २८ फागुन ।
अनलाईन पत्रकार संघका तीन जना पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । दृष्टि मिडिया नेटवर्कद्वारा सञ्चालित हरपल नेपाल डटकम अनलाईनले आज राजधानीमा एक कार्यक्रम गरी सम्मानित गरेको हो ।
भृकृटीमण्डप स्थित रिपोर्टर्स क्लबमा आयोजित अनलाईनको शुभारम्भ कार्यक्रमका क्रममा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघका सचिव प्रभात चलाउनेले अनलाईन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगाना, पूर्व अध्यक्ष नरदेव पाण्डे र निवर्तमान अध्यक्ष प्रवेश सुवेदीलाई सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संगठन, नेपालका अध्यक्ष समेत रहेका प्रमुख अतिथि प्रभात चलाउनेले राज्य मिडियाप्रति अनुदार बन्दै गएको बताए । नयाँ संविधानभित्र जहाँजहाँ सञ्चार तथा प्रेसका बारेमा प्रसंग रहेका छन्, ती ती ठाउँमा लामो थप स्पष्टिकरणसहितको ब्याख्या लेखेर मिडियालाई कुन्ठित गरिएको उनले दावी गरे ।
आफूलाई प्रजातन्त्र र लोकतन्त्रको रक्षक दावी गर्ने नेताहरुले नै प्रेसलाई निकै साँघुरो दायराबाट हेरेर त्यसलाई नियन्त्रण गर्न खोजेको बताउँदै चलाउनेले अहिलेको संविधानमा गरिएको व्यवस्थामाथि टेकेर भोलि आउने कोही निरंकुश शासकले मिडियामाथि कडा प्रतिबन्ध लगाउन सक्ने खतरा रहेको स्पष्ट पारे ।
प्रमुख अतिथि चलाउनेले मिडियामाथि नियन्त्रण गर्ने अर्को प्रयास अनलाईन सञ्चारमाध्याम सञ्चालन निर्देशिका ल्याएर गरिएको बताए । नेपाल पत्रकार महासंघसहित सबै सरोकारवालाले दिएको सुझाबलाई लत्याएर रातारात उक्त निर्देशिकामा केही प्रतिबन्धात्मक व्यवस्थाहरु ल्याएका कारण त्यसलाई कार्यान्वयन हुन नदिएको बताए ।
राज्यको उच्च तहका राजनीतिक तथा प्रशासनिक सुनियोजित रुपमा यसरी मिडियामाथि बेलाबेलामा धावा बोल्दै गएको तथ्य राख्दै उनले पत्रकारहरुले चनाखो भएर आफ्नो स्वतन्त्रताको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
कार्यmक्रमा नेपाल प्रेस काउन्सिलका सदस्य तथा पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष गोबिन्द चौलागाई, रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउत, अनलाईन पत्रकार सघंका अध्यक्ष शिव सत्याल, निवर्तमान अध्यक्ष प्रवेश सुवेदी, संस्थापक अध्यक्ष केपी ढुंगाना, प्रेस फोरमका सरोज खिलाडी लगायतले आआफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले हरपल नेपाल डट कमलाई सफलताको शुभकामना दिँदै पत्रकारिताको विभिन्न पक्षका बारेमा परिचर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...