यस्ताे छ विश्वकै धनाढ्य व्यक्तिहरूकाे सूचि, मार्क जुकरवर्ग पाँचौ स्थानमा

  • काठमाडौं, ८ चैत । 
विल गेट्स यो वर्ष पनि विश्वकै धनी व्यक्तिकाे सूचिमा एक नम्बरमै कायम रहेका छन् । 

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको विश्वका धनाढ्य व्यक्तिको सूचीमा गेट्स ८६ अर्ब डलरसहित शीर्ष स्थानमा कायमै रहेका हुन् । गएको वर्षभन्दा उनको सम्पत्तिमा ११ अर्ब डलरको बढोत्तरी भएको छ । 

दोस्रो स्थानमा संचार उद्योगी वारेन बफेट छन् भने तेस्रो स्थानमा अमाजोनका जेफ बेजोस छन् । जेफ यो वर्षको सबैभन्दा भाग्यमानी धनाढ्य समेत भएका छन् । गएको वर्ष पाँचौ स्थानमा रहेका उनले यो वर्ष धनाढ्यका सूचीमा रहेकामध्ये सबैभन्दा धेरै २७ अर्ब ६० करोड डलर कमाएका छन् । चौथो नम्बरमा स्पेनको कपडा उद्योग जाराका एमान्सियो ओर्टेगा छन् । 

यस्तै पाँचौ स्थानमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग छन् । उनको सम्पत्ति गएको वर्षभन्दा ११ अर्ब ४० करोड डलरले बढेको छ । 

विश्वमा धनाढ्यको संख्या र उनीहरुको सम्पत्तिमा भएको वृद्धिले यसवर्ष नयाँ रेकर्ड बनाएको फोब्र्सले जनाएको छ । फोब्र्सका अनुसार यो वर्ष विश्वमा अर्बपतिको संख्या १३ प्रतिशतले बढेर २ हजार ४ पुगेको छ । उनीहरु सबैको सम्पत्ति एकमुष्ट रुपमा गणना गर्ने हो भने १८ प्रतिशतले बढेर ७६ खर्ब ७० अर्ब डलरभन्दा बढी छ । 

यो वर्ष अर्बपतिको सूचीमा १ सय ९५ जना नयाँ व्यक्ति समावेश भएका छन् । जसमा सबैभन्दा धेरै चीनका ७६ जना र अमेरिकाका २५ जना छन् । तर समग्रमा ५ सय ६५ जना अर्बपतिसहित अमेरिका पहिलो स्थानमा छ भने ३ सय १९ जना अर्बपतिसहित चीन दोस्रोमा छ । बेलायतका भने ५४ जना अर्बपति सूचीमा समावेश छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यो वर्ष १ अर्ब डलर गुमाउँदै साढे ३ अर्ब सम्पत्तिमा खुम्चन पुगेका छन् । उनी सूचीको ५ सय ४४ औं स्थानमा छन् । 

नेपालका उद्योगपति विनोद चौधरी पनि विश्वका अर्बपतिको सूचीमा परेका छन् । १ अर्ब ३० करोड डलरसहित उनी १५६७ औं स्थानमा छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...