इमर्जिङ एशिया कप : नेपालको लगातार दोस्रो हार, बंगलादेश ८३ रनले विजयी

  • काठमाडौं, १५ चैत ।

इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले लगातार दाेस्राे हार व्यहाेरेकाे छ ।

मंगलबार भएकाे खेलमा बंगलादेशसँग नेपाल ८३ रनले पराजित भएको छ । २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ४२ ओभर ३ बलमा सबै विकेट गुमाउँदा १ सय ७४ रन मात्र बनाउन सक्यो । 

नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए । ६ चौकाको मद्धतमा उनले ८५ बलमा ५६ रन बनाएका हुन् । १० बल खेलेका कप्तान ज्ञानेन्द्र मल्ल खाता नखोली आउट भए । १३ बल खेलेका अर्का ओपनर सुनिल धमला पनि एक रनमै आउट भएका थिए । 

यस्तै आशिफ शेखले १५ बलमा १२ रन बनाए । धरमराएको नेपाली ब्याटिङ दिलिप नाथ र दिपेन्द्र सिंह ऐरीले सम्हालेका थिए । ६२ बलमा ४१ रन बनाउँदा दिलिप आउट भएपछि ब्याटिङ सम्हालिन सकेन । त्यसपछि शरद भेषावकर ५ बलमा २ रन बनाएर आउट भए । लगत्तै मेहबुब आलम १७ बलमा १० रन बनाएर आउट भए ।

बिनोद भण्डारीले एक छक्का, ६ चौकाको मद्धतमा २३ बलमा ३३ रन बनाए । यस्तै भुवन कार्की १६ बलमा ६ रन बनाएर आउट भए बंगलादेशका रहतुल जाबेदले चार, सइफ उद्धीनले तीन साथै अबुल हसन राजले दुई विकेट लिए ।

नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । नेपालका अभिनाश कर्णले ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए । यस्तै मेहबुब आलम, दिपेन्द्र सिंह ऐरी र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । 

सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...