सुदूरपश्चिममा देवर भाउजुबीच सिस्नुपानी छ्यापेर विषु पर्व मनाइँदै
कञ्चनपुर, १ वैशाख ।
देवर भाउजुबीच सिस्नुपानी छ्यापेर कञ्चनपुरलगायत सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइँदै छ ।
विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको हुने जनविश्वासका साथ देवर भाउजु र सालीलाई यस पर्वमा सिस्नुपानी छ्याप्ने गरिन्छ ।
बिहानै घरनजिकका तालतलैया अथवा तीर्थमा गएमा नुहाएर शरीरमा रहेको फोहरमैला बगाउने, बालबालिकाको कपाल खौरिने, विवाह व्रतबन्ध गर्ने र मन्त्रोच्चारण गर्ने दिनका रुपमा विषु पर्वलाई लिइने गरिएको सुदूरपश्चिमका संस्कृतिका जानकार दुर्गादत्त भट्टले बताए ।
आजको दिन नुहाएमा शरीरको विष फालिने भएकाले रोगब्याधी नलाग्ने जनविश्वास रहेको छ । विषु पर्वमा दिदीबहिनीलाई बोलाई नयाँ अन्नबाट बनेका सेल, पुरी, खिर, मासुलगायतका विशेष परिकार घरमा तयार गरी परिवारका सदस्यसँगै बसेर खानेसमेत यस पर्वमा गरिन्छ ।
विदेश भएका पनि यस पर्वका अवसरमा घर फर्केर परिवारसँग रमाइलो गरी बिताउने गर्दछन् । वर्ष दिनमा एकै दिन भए पनि आज मासु भने अनिवार्य खाइन्छ । यसै अवसरमा नयाँ कार्यको थालनी र पुराना कार्यको समीक्षा गर्ने, नयाँ वर्षका लागि नयाँ पारिवारिक योजना बनाउने त्यहाँको समाजमा चलन रहेको छ ।
यो पर्व सुदूरपश्चिम क्षेत्रलगायतका भारतको कुमाउ गढवाल क्षेत्रमा धुमधामका साथ मनाइने गरिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...