यो गणतन्त्र पलाँसको फूल हो जोसँग सुन्दरता त छ तर कुनै सुगन्ध छैन


पुष्प न्यौपाने ।

रुपयौवनसम्पन्नाः विशाल कुलसंभवाः
विद्याहिनाः न शोभन्ते निर्गन्धा इव किशुकाः

रुप र यौवनले युक्त एउटा व्यक्ति जो धनधान्यले सम्पन्न विशाल परिवारमा जन्मिएको छ । यदि ऊ विद्याबाट वन्चित छ भने त्यसलाई पलाँस वृक्षका ति सुन्दर फूलहरुसंग मात्रै तुलना गर्न सकिन्छ जससंग सुन्दरता त छ तर कुनै सुगन्ध छैन । एउटा फूलसंग सुगन्ध छैन भने त्यसको सुन्दरताको कुनै मूल्य हुँदैन । यो गणतन्त्र त्यहि पलाँस वृक्षको एउटा सुन्दर फूल हो जुन फूलसंग कुनै सुगन्ध छैन ।

यो जतिसुकै ठूलो डिजाइन र जतिसुकै ठूला छिमेकीको सहयोगमा ल्याइएको भए पनि सुगन्धहिन, शोभाहिन र विनम्रता हिन छ । त्यसकारण यस गणतन्त्रमा सन्तुष्ट हुनसकिदैन । यो गणतन्त्र आएपछि यसको स्थापनाका लागि मारिएका हजारौं शहीद, घाइते,वेपत्ता र पसिना बगाएका लाखौं इमान्दारहरुप्रति यो कहिल्यै विनम्र बन्न सकेन ।

कृष्णसेनका हत्यारालाई तक्मा दिएकै हो यसले । कैंयौ बालकृष्णहरु फरार छन् । कैयौं रबिन्द्र प्रताप, रुक्माङ्गद,सूर्यबहादुर सेन ओलीहरुलाई पुरस्कार स्वरुप प्रमोसन दियो यसले । कैयौं हत्यारा,चोर, लुटेरा र बलत्कारीहरुले उन्मुक्ति पाउँदै गर्दा कालीबहादुर खामहरु मोष्ट वान्टेडकै सुचिमा छन् । सुरेश वाग्ले, मास्टरसाहेब, किमबहादुर थापा सुनिल लगायत सयौं शहीदका छोराछोरीहरु शहरका गल्लीमा बरालिएको र केहि जीवन यापनका लागि खाडी पुगेको बेला प्रचण्ड,पासाङ र विद्याका छोराछोरीहरुलाई तक्मा बाँड्दै छ यो गणतन्त्र ।

लाखौ विदेशीलाई नागरिकता प्रदान गर्ने, अघोषित रुपमा देशको प्रशासकिय अधिकार लैनचौर पुर्याउने यस गणतन्त्रको कसरी मुक्तकण्ठले प्रशंसा गर्न सकिन्छ र ? १० बर्ष जनयुद्ध लडेको माओवादीलाई काँग्रेसको रुख चिन्हमा भोट हाल्न लगाउने र माओवादी विरुद्ध कुनै कसर वाँकी नराखी विपरित विचारधारामा उभिएका काँग्रेसीजनलाई हसिया हथौडामा भोट हाल्न लगाउने अनि पुस्तैनी पञ्चायतका पक्षधर र राजतन्त्र समर्थकलाई सूर्यमा भोट हाल्न लगाउने र पञ्चायतदेखी नै राजतन्त्र विरुद्ध जेल नेल भोगेका एमाले जनलाई राप्रपाको गाइ चिन्हमा भोट हाल्न लगाउने पनि यहि गणतन्त्र हो ।

यहि गणतन्त्रमा सिद्धान्त, विचार,आदर्श र राजनीतिक आस्थाको अन्त्य भएको छ । पार्टी सदस्यता लिँदा संगठनमा खाएका र खुवाइएका सपथहरुको मुल्य च्युत भएको छ । जतिसुकै भव्यताका साथ यस गणतन्त्रलाई सेनाको घेरामा टुँडीखेलमा सम्पन्न गर्न खोजिएपनि आम नागरिकले यसको अपनत्व वा स्वामित्व लिएकै छैनन् । सत्ता र शक्ति वाँडिचुँडी खाने एक दलाल व्यवस्थाका रुपमा यस गणतन्त्रको उदय भएको छ । यहाँ कुनै राजनीतिक इमान,जमान र प्रतिष्ठा छैन ।

भुइको काँग्रेस किचिएको छ, भुइको एमाले किचिएको छ,भुइको माओवादी किचिएको छ । तीनै भुइमान्छेहरुले धरहरा चढाएकाहरु भुइमान्छेका रुपमा रहेका इमान्दार र निर्दोष कार्यकर्ताको टाउकोमा पिसाब गर्दैछन् । अन्याय र अत्याचारले न्याय र इमानका पर्खालहरु भत्काएका छन् । सीमा र बार वन्देजहरु तोडेका छन् । हरेक क्षेत्रमा दलाल चरित्रको विगविगी छ । यो गणतन्त्र विध्वंशक छ । विनाशक छ र दिर्घकालिन रुपमा यो मुलुकका लागि हानिकारक छ ।

विपरित स्वार्थहरुको बाध्यात्मक मेलबाट जन्मिएको यस व्यवस्थाले कसैको आदर्श र राजनीतिक विचारलाई वोक्ने छैन । यसको रिमोर्ट नेपाल सक्न चाहनेहरुको हातमा छ । राजनीतिक पार्टीका पहिलो तहका नेताहरुको राजनीतिक भविष्य सुनिश्चित गर्ने, उनीहरुका छोराछोरीलाई उत्तराधिकारी बनाउने, राजनीतिक संगठनमा दास र मालिक जन्माउने र कालान्तरमा नेपाल भन्ने मुलुक नै विघटन तर्फ लैजान यो गणतन्त्र उद्धत छ ।

यस गणतन्त्रको स्वामित्व लिन भित्रै देखि न प्रचण्ड र शेरबहादुर चाहन्छन् न केपी ओली । कमल थापा त यस गणतन्त्रको लाभांश लिन शेयर मार्केटमा आइपुग्ने खेलाडी हुन् । यो गणतन्त्र विपरितहरुको शक्ति सन्तुलनको समय हो । वा शक्ति सञ्चयका लागि विश्राम गर्ने समय हो ।

जुन गणतन्त्रले जनयुद्ध र जन आन्दोलन दुबैका भावना समेट्न सकेन । जसले परिवर्तनलाई पूर्णरुपमा सँस्थागत गर्न सकेन, राष्ट्रिय एकता, अखण्डता, अक्षुण्णता र सार्वभौमिकताप्रतिको प्रतिवद्धतामा आफुलाई दह्रो रुपमा उभ्याउन सकेन । जसले शान्ति र स्थायित्वको अझै प्रत्याभुती दिन सकेको छैन । त्यस गणतन्त्रको जयजयकार गर्नुपर्ने कुनै कारण छैन ।

२०७४ जेठ १५ गते गणतन्त्र दिवशका दिन प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...