चुनावमा एमालेको घोषणापत्र : वृद्धभत्ता ५ हजार, समुद्रमा आफ्नै पानीजहाज...
- काठमाडौं, १८ बैसाख ।
स्थानिय निकायको चुनावको मिति नजिकिएका बेला नेकपा एमालेले महत्वाकांक्षी एवं लोकप्रिय कार्यक्रमलाई समेटेर स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको घोषणा पत्र सार्वजनिक गरे । झण्डै ५२ पृष्ठ लामो घोषणापत्रमा समेटिएका मुख्य विषयहरु यस्ता छन्ः
१० वर्षमा प्रतिव्यक्ति आय ५ हजार डलर
गरिब देशेको सुचीमा रहेको नेपाललाई एमालेले १० बर्षभित्र नेपालीको प्रति व्यक्ति आय ५००० डलरभन्दा बढी पुर्याएर महत्वकाक्षी घोषणा गरेको छ । नेपाललाई पाँच वर्षभित्र नेपाललाई विकासशील र दस वर्षभित्र मध्यम आय भएका मुलुकहरूको तहमा स्तरोन्नत गर्ने उसले बताएको छ ।
१० वर्षमा १५ हजार मेगाबाट बिजुली
आगामी १० वर्षमा थप १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको छ । नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, भूतापीय, सौर्य र अन्य वैकल्पिक माध्यमबाट समेत गरी १५ हजार मेगावाट थप विद्युत् उत्पादन गरिने छ, एमालेले भनेको छ ।
‘घर घरमा बिजुलीः जन-जनमा शेयर’को नारा लिएको एमालेले जलविद्युत परियोजनाहरूमा जनता र सरकारको संयुक्त लगानी प्रवर्द्धन गर्ने बताएको छ । त्यस्ता आयोजनाहरूमा स्वदेश र प्रवासमा रहेका नेपाली तथा गैरआवासीय नेपालीलाई ४९ प्रतिशतसम्म शेयर खरिद गर्न दिइनेछ ।
सबैतिर रेल र राजमार्ग
सडक र रेल यातायातका क्षेत्रमा पनि महत्वकांक्षी योजना अघि सारेको छ । राजमार्ग र रेलमार्ग बनाउँदा सुरुङ र उच्च पुल निर्माण प्रविधि पनि अपनाइने उसले बताएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरी पाँच वर्षभित्र सबै राजमार्गको विस्तार गर्ने, काठमाडौं-तराई द्रूतमार्ग बनाउने र हुलाकी राजमार्ग निर्माण गर्ने एमालेले बताएको छ ।
पूर्व-पश्चिम राजमार्गलाई ६ लेनको बनाउने, पाँच वर्षमा मध्यपहाडी पुष्पलाल राजमार्गलाई चार लेनको बनाउने र तराईका सबै जिल्लामा पूर्व-पश्चिम राजमार्गदेखि नेपाल-भारत सीमासम्म चार लेनका राजमार्ग बनाउने बताएको छ । हिमाली जिल्लाहरूका सदरमुकामदेखि नेपाल-चीन सीमानासम्म न्यूनतम दुई लेनका सहायक राजमार्ग निर्माण गरिनेछ, एमालेले भनेको छ ।
एमालेको घोषणापत्रमा पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गर्ने, रसुवागढी-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग बनाउने र काठमाडौं-वीरगञ्ज रेलमार्ग निर्माण गर्ने पनि एमालेले बताएको छ । साथै काठमाडौँमा भित्री चक्रपथको समानान्तर ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गर्ने एमालेले दाबी गरेको छ ।
बृद्ध भत्ता ५ हजार
स्थानीय चुनावको घोषणा पत्रमा दलहरुबीच सामाजिक सुरक्षा भत्ता बढाउने होड नै चलेको छ । कांग्रेसले सामाजिक सुरक्षा भत्तामा उल्लेख्य वृद्धि गर्ने भनेको छ । एमालेले ५ हजार पुर्याइने बाचा घोषणा पत्रमा गरेको छ ।
सबै स्थानीय तहमा जेष्ठ नागरिक आवासगृह निर्माण गर्ने र त्यहाँ विश्राम, मनोरञ्जन र निःशुल्क आवासको सुविधा उपलब्ध गराउने एमालेले बताएको छ ।
राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउन वार्ता
एमाले अध्यक्ष समेत रहेका केपी ओलीले प्रधानमनत्री हुँदा बोलेको राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनलाई पनि घोषणापत्रमा समेटेको छ । पानीजहाज सञ्चालनको सम्भाव्यता अध्ययन गरी योजना कार्यान्वयन गर्न भारत, चीन र बंगलादेश सरकारसँग वार्ता गर्ने उसले बताएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...