महान सहिद गंगालालले आफ्ना पितालाई लेखेको एउटा मार्मिक चिठी….!



बा !

तपाईको आज्ञा पालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्तै सकिन, म सक्तिनँ । आज रातभर निन्द्रा परेन । बिर्से पनी हुने पाठ म घोकिरहेछु, सम्झिनुपर्ने पाठ चै मैले बिर्सनै आँटेछु ।

आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाईरहेका भोका अगणित भाइहरुको पहेला सुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु ।

अन्तसंस्करणबाट आगो रुमलिएर आयो । के के असह्य भयो । अब म सहन असमर्थ छु जताततै कोलाहलको ज्वाला देख्छु, आफै सल्कन लागेको छ । मलाई त्यो निभाएर मर्न दिनोस् ।

तपाई मेरो पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईको आज्ञाले म पछि हट्न सक्तिन । म तपाईको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्तिन ।

अब मेरो माया मारिदिनोस् । मेरो अरु भाईहरु छँदैछन् । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायको विरुद्द लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु । बालक पुत्र गङ्गालालको दण्डवत सेवा !

(यो चिठ्ठी १९९७ सालमा सहीद गङ्गालाल पक्राउ भएपछि उनको घरमा खानतलासी भएर सिंहदरवारमा थुपारेको कागजबाट बालकृष्ण समले पाएका थिए) ।

साभारः सिद्दिचरणका जेल संस्मरण

प्रतिकृया दिनुहोस्

Loading...