प्रचण्डका कारण ४० हजार म्यादी प्रहरीले पाउने भए स्थायी जागिर (पत्रसहित)
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjG3xK0rHiTzSZ5Aqa5dLZUjj9AQh631QmJMC96XmZuWRwEDfCwI-f5DyyF8_XsbCuBooQiDxgrgHABoFFabHgN_femQiQ9x7FeW9RKGZaUS-_H-2kAi2yaoeR-THyhiSBEoBrrJCArCd8/s400/prachand.jpg)
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार भएका छन् ।
म्यादी प्रहरीका संयोजक कपिल थापा नेतृत्वको समूहले अध्यक्ष प्रचण्ड समक्ष माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
‘काँग्रेस एमालेलाई पनि यो माग राख्नुस, राजनीतिक सहमतिमा म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न हाम्रो पार्टी तयार छ’, अध्यक्ष प्रचण्डले ज्ञापनपत्र बुझ्दै भने ।
प्रचण्डलाई ज्ञापनपत्र बुझाउन करीव ४५ जना म्यादी प्रहरी पेरिसडाँडा पुगेका थिए । ६ वटा प्रदेशमा भएको स्थानीय तहका लागि मुलुकभर ७५ हजार म्यादी प्रहरी परिचालन गरिएको थियो । संयोजक थापाका अनुसार काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाइनेछ । अध्यक्ष प्रचण्डले राजनीतिक सहमतिका आधार निर्णय गर्न सकिने भएको थापाले बताए ।
‘देश संघीयतामा जाँदा न्युनतम पनि ४० हजार प्रदेश प्रहरी आवश्यक पर्ने निश्चितै छ । ती प्रदेश प्रहरीका लागि हामी जस्तै युवाहरुकै आवश्यता पर्ने हो । राज्यले हामीलाई तालिम दिएको छ,हामी माथि राज्यको ठूलो लगानी भइसकेको छ र हामीले पनि निष्पक्ष रुपमा स्थानीय तहको निर्वाचन गर्न सहयोग गरेर राज्यलाई केहि न केहि गुन लगाएकै छौ’ज्ञापनपत्रमा भनिएको छ, ‘हिजो हामी छनौट हुँदा कुनै पनि आग्रह पूर्वाग्रका आधारमा नभई स्वस्फुर्त रुपमा छनौट भएका छौ र भोलीका दिनमा समेत विना कुनै पूर्वाग्रह राष्ट्र र जनताको सेवामा समर्पित हुने नै छौ । हामी हाल म्यादीबाट अवकाश भएका म्यादी प्रहरीहरुलाई प्रदेश प्रहरीमा समायोजन गरी राष्ट्रको सेवा गर्ने अवसर प्रदान गरिदिनु हुन यो माग पत्र पेश गरेका छौ ।’
आफ्ना माग र समस्याको समाधान कुनै पनि किसिमले दबाबमुलक कार्यक्रमका माध्यमबाट नभई आपसी छलफल,सम्वाद र सहमतिबाटै हुनेमा म्यादी प्रहरीले आशा व्यक्त गरेका छन् ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYxnnVO-z9oywYUu2otyC2sQDPpf4MU4wvr_6Ou6pkborH3cZw55d3mLg5rzhL89TluNINRCXajuTpvMh77-uRubaA8w50BU0X1mv_EV-NrPcWiq9pQasxHiBoj1P8USPl1EKg5KpOwr0/s1600/myadi-patra.jpg)
प्रतिकृया दिनुहोस्
Loading...