माओवादीको पराजय: सपनाहरुको मृत्यु र सिद्दान्तको स्खलन
- कमल बुढा ।
देशमा भर्खरै २ चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनले माओवादीलाई देशको तेस्रो शक्ती बनाएर एमालेलाई पहिलो र काँग्रेसलाइ दोस्रो शक्तिका रुपमा स्थापित गराउने लगभग निश्चित देखिएको छ।
यतिबेला अरु राजनीतिक शक्तिहरु भन्दा पनि माओवादीका बारेमा बिशेष चर्चा गर्न जरुरी छ, किनभने नेपालमा गणतन्त्रको अशली हिस्सेदार यदि कोही छ भने त्यो माओवादी ।
नेपालमा गणतन्त्रको माग गर्दै माओवादी जतिबेला जनयुद्दमा थियो त्यसबखत एमालेका हालका अध्यक्ष केपी ओली लगायतका नेताहरुले माओवादीको उक्त मागलाई 'ठेलागाडा चढेर अमेरिका पुग्ने सपना' जस्तै हो भनेर व्यंग्य गरेका थिए ।
यता कांग्रेसले भने माओवादीले गणतन्त्रको माग गर्दै तत्कालिन देउवा सरकारलाई ४० सुत्रीय मागसहित युद्दमा जाने कुरा गर्दा गुलेली नभएकाहरुले युद्दको धम्की दिएर केहि हुदैन भन्दै निकै होच्याएको थियो ।
त्यस्तै अरु साना कम्युनिष्ट पार्टीहरुले पनि माओवादीको उक्त कदमलाई फासिवादी कदमको संज्ञा दिएका थिए ।
तत्कालिन एकताकेन्द्रका महासचिब नारायणकाजी श्रेष्ठले त माओवादीले जनयुद्दमा बगाएको रगत र महिला महिनावारी हुँदा बग्ने रगत एउटै भएकोले यसको कुनै मूल्य नै हुदैन भन्नेसम्मको अभिव्यक्ति समेत दिएका थिए।
तत्कालिन एकताकेन्द्रका महासचिब नारायणकाजी श्रेष्ठले त माओवादीले जनयुद्दमा बगाएको रगत र महिला महिनावारी हुँदा बग्ने रगत एउटै भएकोले यसको कुनै मूल्य नै हुदैन भन्नेसम्मको अभिव्यक्ति समेत दिएका थिए।
तत्कालिन बेला गणतन्त्रको माग गर्दै आन्दोलनको सुरुवात गर्ने माओवादी कदमलाई नेपालका सबै राजनीतिक दलले आतंककारी कदम भन्दै माओवादी नेता कार्यकर्ताहरुको टाउकाको मूल्य नै तोक्ने सरकारी निर्णयको समर्थन गरेका थिए ।
यति मात्र हैन काँग्रेस एमालेका एकाध बाहेक नेता कार्यकर्ताले माओवादी समर्थक, सुभचिन्तक र नेता कार्यकर्ताहरुको हत्या गर्ने गिरफ्तार गर्ने बेपत्ता बनाउने सरकारी सेना र प्रहरीको अभियानलाई निकै जोडतोडले सहयोग पनि गरे । त्यसका निम्ति गाउँ-गाउँमा सरकारी निकायको सुराकीको भूमिका समेत निर्वाह गरेका थिए ।
यसरी सिंङ्गो देश र राजनतिक दल एकातिर र माओवादी मात्र एकातिर हुँदा पनि माओवादीले नेपालको ८० प्रतिशत भूभागमा आफ्नो जनसत्ता सञ्चालन गर्यो । आफ्नै सेना र अदालतको निर्माण गरेर अन्ततः देशलाई गणतन्त्रमा ल्याउने अभियानलाई सफल बनाए ।
यसरी गणतन्त्रका लागी त्याग समर्पण र बलिदानी गरेको माओवादी पार्टीले नै गणतान्त्रिक देशको स्थानीय निर्वाचनमा यति ठुलो पराजय किन बेहोर्नु पर्यो त ? यस बिचयामा केहि चर्चा भने अबश्य गर्न जरुरी छ ।
स्वार्थ र सिद्दान्तको स्खलन नै हारको पहिलो कारण
माओवादीले मूलतः २ ओटा निर्वाचनमा निकै ठुलो हार बेहोर्नुपरेको छ । पहिलो हार भनेको दोस्रो संबिधानसभा र दोस्रो हार भनेको स्थानीय तह निर्वाचन । यी दुवै निर्वाचनमा माओवादी हार्नुको मुख्य कारण भनेको उसमा हावी भएको स्वार्थ हो ।
मानिसमा रहेका असिमित भोकहरुका कारण मानिस धेरै पटक मरेको हुन्छ । उसमा अतृप्त चाहना हुन्छन तर अनुयायी, सर्मथक वा शुभचिन्तकबाट लक्ष्य नजिक नपुग्दै टाढिने डरले उ कसैको सहारामा बाचेको हुन्छ ।
यहाँनेर माओवादीहरुको हबिगत यस्तै भयो । शान्तिप्रक्रियामा आएपछि उनीहरुका नेता कार्यकर्ता र मूलतः सिङ्गो पार्टी नै अरुको सहारामा बाचेको देखियो ।
पार्टीको मूल नेतृत्व प्रचण्ड बाबुराम र केहि बरिष्ठ नेताहरुलाई सत्ता भोग गर्ने स्वार्थको भुत चढ्यो र उनीहरु आफु कसरी सत्तामा पुग्न सकिन्छ भन्ने ध्याउन्नमा लागे । जसकारण उनीहरुले अरु कुनै कुरामा ध्यान दिन सकेनन् ।
खास गरी पहिलो चरणमा माओवादीका पार्टी जिल्ला सचिब भन्दा माथी केन्द्रीय सदस्य सम्मका नेताहरु सेवा र सुबिधा भोगको हिसाबले बढी बिग्रिन सुरु गरे ।
जनतामा रहीरहनुको साटो उनीहरु व्यवस्थित तथा स्थायी खालको बसोबासमा केन्द्रित हुन थाले । सुबिधा भोग गर्ने नाममा महंगा सामाग्रीको प्रयोग, महँगो खानपिन र मोटर गाडीको जोहो गर्न थाले ।
यसरी पार्टीकै खर्चमा ब्यकिगत सम्पत्ति थुपार्न सुरु गरेका माओवादी नेताहरु चन्दा संकलन मार्फत प्राप्त रकमलाई समेत जग्गा प्लटिङमा लगानी गर्ने देखी ब्याजमा लगाउने सम्मको धन्दा सुरु गर्न थाले ।
उनीहरुलाई जनता कार्यकर्ता र आफ्नो वर्ग भन्दा व्यक्तिगत लाभको निम्ती आफ्नो व्यावसाय प्यारो हुन थाल्यो ।
यसरी निजी स्वार्थमा केन्द्रित हुँदै गएको उनीहरुको जीबनशैली र उनीहरुको सोच्ने तरिकाबाट जनतामा माओवादीले बर्गीय संघर्ष गरिरहेको भन्ने विश्वास पैदा हुन् सकेन ।
संसदीय राजनीति अख्तियार गरिसकेको माओवादीलाई जनताले भोट दिएनन् । कयौं माओवादी समर्थक शुभ चिन्तकहरु कांग्रेस एमालेमै फर्के । यी कारणहरुले माओवादीले चुनावी राजनीतिमा ठुलो धक्का खानु परेको हो।
सपनाहरुको मृत्यु र गुटगत राजनीति
माओवादी हार्नुको अर्को कारण भनेको उनीहरुले जनता कार्यकर्तालाई बाडेका सपनाहरुको हत्या गर्नु हो । हिजो जनता कार्यकर्तालाई बाडेको उनीहरुको सपनाबाट नेता कार्यकर्ताहरु स्वम च्युत हुँदा जनयुद्धको सपनाको मृत्यु भइसकेपछि उनीहरुसंग जित्ने कुनै आधार भएन ।
माओवादी नेता कार्यकर्ताहरु अहिले साच्चिकै भन्ने हो भने व्यक्तिगत स्वार्थ राजनीति बाहेक आफ्नो लक्षबाट पुरै च्युत भएका छन् ।
यसको उदाहरणको रुपमा माओवादीले कांग्रेससंग तालमेल गरेर अध्यक्ष प्रचण्डले नै रुखमा भोट हालेको घटनालाई लिन सकिन्छ ।
संसदीय व्यवस्थाका कतिपय चुनवामा तालमेल गर्न सकिन्छ तर यसरी सैदान्तिक भिन्नता भएका दलहरुसंग भन्दा पनि कम्तिमा आफ्नो सिद्धान्तको नजिक रहेको र समान विचार अख्तियार गर्ने पार्टी तथा उही झण्डा बोक्ने दलसंग मात्र हुन् सक्छ । जस्तो उनीहरुले एमालेसंग कार्यगत एकता गरेको भए अन्यथा हुने थिएन।
यसरी न्यूनतम सैद्धान्तिक मान्यतालाई समेत लत्याएर आफै बर्ग सत्रु घोषणा गरेको कांग्रेससंग तालमेल गरेर रुखमा भोट हाल्नुले कयौं माओवादी समर्थक कार्यकर्ता र भोटरले उनीहरुको सत्तास्वार्थ बाहेक अरु लक्ष छैन भन्ने बुझे र भोट दिएनन् ।
अब माओवादीलाई मूलतः प्रचण्डलाई यो व्यवस्था निल्नु न ओकल्नु भएको छ । यो संसदीय व्यवस्था नमानौ अर्को बिकल्प छैन । आफुसंग भएका हतियार र सेना पुरानै सत्तालाई बुझाइयो । जनादालत र सत्ताको विघटन गरेर आत्मसमर्पण गरिसकियो ।
मानौ यो व्यवस्था खासमा उनै पुराना संसदीय पार्टी कांग्रेस एमालेकै हो । जुन व्यवस्थाका बिरुद्ध माओवादीले लड्यो त्यही व्यवस्थालाई आफ्नो ठानेर सुदृढ गर्दै अगाडी बढ्नु विचलनको पराकाष्ठा हुन्छ । जुन कुरा माओवादीहरुले बुझेका छन् । तर यसबाट उम्किने र जनताको पक्षमा लाग्ने उपर्युक्त बाटो भने भेटेका छैनन् ।
गुटगत राजनीतिले निम्त्याएको दुर्घटना
अहिलेको माओवादीलाई रुखमा पलाएको ऐजेरु भन्दा पनि अन्याय हुदैन । झ्याउ जस्तै समुह सकेसम्म प्रतेक हागाँ-हाँगासम्म पुगेको हुन्छ । नेपालको परिवर्तनको हिस्सेदार मानिएको माओवादीको चरित्र ठिक त्यहि ऐजेरु जस्तै हो ।
माओवादीमा केही यस्ता मान्छेहरु छन्, जो पार्टी कमिटीमा बसेर आफ्नो स्वार्थको मात्र सेवा गर्ने, पार्टी संगठन भित्र बस्ने तर लक्ष्यसंग कतै साईनो नभएका बिषयले सिङ्गार पटार गर्दै पार्टी संगठनकोे मुल चरित्र फेरिदिने गरिरहेका छन् ।
यस्ता व्यक्तिहरु खासगरी माओवादी शान्ति प्रक्रियामा आएपछि भित्रिएका हुन् । जसले अन्त्यमा पार्टी भित्र अर्को समुह खडा गर्ने, अनि उनका बिचराहरु कार्यकर्ता चाहिँ लोभ, आश, डर र त्रासमा बिरालोले घरिघरि आफ्नो बासस्थान सारेझैं सरिरहने ।
माओवादीभित्र गलत कुराको बिरोध गर्न नसक्ने बरु गलतमा सहभागी हुने गरेको पाइन्छ । एमाओवादी फुटेर ड्यास बन्नु, ड्यास पनि फुटेर पुनः बिलय हुनु र बाबुरामले कम्युनिष्ट आन्दोलन नै छोडेर भाग्नुलाई यसको उदाहरण मान्न सकिन्छ ।
युद्दकालदेखी माओवादी आन्दोलनमा लागेका एक थरी नेता कार्यकर्ताहरु अहिले जो जहाँसुकै भए पनि जता गएपनि कमाउ धन्दा गर्ने र खान पल्केका बाहेक नेपालमा माओवादीले आरम्भ गरेको अभियान सफल होस भन्ने चाहना राख्दछन । उनीहरु जुनसुकै खेमामा भएपनि सन्तुष्ट छैनन् ।
माओवादीबाट अलग भएका सबै समूहहरुमा गुट र फुट, पद र लाभमा रमाउनेहरु शसक्त उपस्थिति राख्दछन। तिनको उत्पिडनलाई झेल्न नसकेपछि एक थरी नेता कार्यकर्ता वारपार हुन्छन् र अर्को गुटमा संख्या बढाउने काम हुन्छ ।
यसरी आन्दोलनमा राम्रा मान्छेहरुलाई पाखा लगाएर अर्को खेमा समात्न बाध्य पारिदिदा फुटमा रमाउनेहरुलाई फाईदा भएको छ । यस कारण माओवादीले अप्रत्यासित हार बेहोर्नुपरेको हो।
जुनसुकै आन्दोलनमा जहिले पनि शक्ति नै रणनितिक लक्ष्य प्राप्तीमा मुख्य आधार बन्छ । तर माओवादीमा शक्ति केन्द्रीकरण गर्ने भन्दा पनि शक्ति पृथकिकरणमा जोड दिने प्रबृदी हावी हुँदा पार्टी कमजोर बनेको हो।
यस प्रकारको माओवादी पार्टीबाट न त नेपालमा समुन्नत व्यवस्था स्थापनाको कल्पना गर्न सकिन्छ न त आन्दोलनलाई उक्त दिशातिर संगठित गर्न सकिन्छ ।
माओवादीमा सिमित समयका लागी सिमित समुहको हिरो बन्ने प्रचलन बढेको छ । यसले अन्ततः आफुले हिजो देखाएका सपना अनुयायीहरुको सर्मपण त्याग र बलिदानीलाई पुरा गर्दैन, झन् ति सपना शुसुप्त हुन्छन अर्थात् मर्छन ।
यो कुरा माओवादी नामका प्रचण्ड किरणहरुको पार्टीमा मात्र हैन विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीमा पनि उतिकै हावी छ ।
पछिल्लो चरण यही प्रकारको स्वार्थ राजनीति र गुटगत राजनीतिका कारण केही कार्यकर्ताहरु एमाले कांग्रेस वा माओवादी केन्द्रमा फर्किनुलाई एउटा ज्वलन्त उदाहरण मान्न सकिन्छ ।
यसलाई आम नागरिकको सार्बजनिक आलोचनाका रुपमा ग्रहण गर्दै समयमै सच्याइएन भने प्रचण्ड बाबुरामहरुले बिचैमा छोडेको लक्ष्य पुरा गर्छु भन्ने विप्लवको प्रतिबद्धता अपुरो हुनसक्छ ।
आन्दोलन कमजोर बन्छ र कार्यदिशाको लागु फितलो बन्दै जान्छ, यसले समाजवादी व्यवस्था प्राप्तिको लक्ष्य बिचैमा तुहिने सम्भावना बढ्छ।
कयौं क्रान्तिकारी नेता कार्यकर्ता र जनताका अाशाका केन्द्रबिन्दु बनेका नेकपा महासचिव विप्लवले यो कुरालाई बेलैमा सोच्न सकेनन् भने परिणाम सोचेको भन्दा विपरीत नहोला भन्न सकिन्न ।
कयौं क्रान्तिकारी नेता कार्यकर्ता र जनताका अाशाका केन्द्रबिन्दु बनेका नेकपा महासचिव विप्लवले यो कुरालाई बेलैमा सोच्न सकेनन् भने परिणाम सोचेको भन्दा विपरीत नहोला भन्न सकिन्न ।
प्रतिकृया दिनुहोस्
Loading...