इन्काउन्टरमा मारिएका प्रवीणका बाबु भन्छन् - मेरो छोरालाई मारेर प्रहरीले अत्याचार गर्यो..

  • काठमाडौं ।
प्रहरी ‘इन्काउन्टर’मा मारिएका ललितपुरका २६ वर्षीय प्रवीण खत्रीका बाबु प्रवीणबाबु खत्रीले प्रहरीकै गोलीबाट छोराको मृत्यु भएको बताएका छन् । ‘यो प्रहरीको अत्याचार हो,’ उनले भने, ‘अपराध गरेको भए, पक्राउ गरेर कारबाही गर्ने हो, मार्न पाइँदैन ।’ उनले भने । 

छोराको मृत्यबाट स्तब्ध बनेको खत्री परिवारले प्रहरीले आफ्नो छोरालाई मारेको बताएको छ भने यता प्रहरीले भने प्रवीण आफैले चलाएको गोली लागेर उनको ज्यान गएको दावी गरिरहेको छ ।मृतकका आफन्तले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका छन् 

घटनापछि स्थानीयवासी प्रहरीसँग आक्रोशित भएपछि घटनास्थलमा तत्काल सशस्त्र प्रहरीसमेत खटाइएकाे थियाे । ‘फायर त हामीले पनि खोलेका थियौँ, तर हाम्रो गोली उसलाई लागेको होइन, ऊ आफैँले हानेको भन्ने छ,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले भने, ‘कसको गोली लागेको हो, त्यो त विधि विज्ञान प्रयोगशालाबाट प्रस्ट भइहाल्छ ।’ 

उनी लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न आएको प्रहरीलाई पेस्तोल तेस्र्याउँदै उनी भाग्ने प्रयासमा थिए । 

पक्राउ पर्ने डरले खत्री आफैँले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रहरीको दाबी छ । परिवारका सदस्यले प्रहरीले गोली हानेर मारेको बताएका छन् ।

खत्री कुसन्तीस्थित आफ्नै घरमा ढोका लगाएर बसिरहेका थिए । महाशाखाका डिएसपी अजय केसी नेतृत्वको टोली दिउँसो करिब २ बजे उनलाई पक्राउ गर्न पुगेको थियो । ढोकामा प्रहरी आएको उनले सिसिटिभीबाट देखे ।

पछि दुई हातमा दुईवटा पेस्तोल प्रहरीलाई तेस्र्याउँदै घरको पछाडि हाम फालेका थिए । प्रहरीले गाेली हान्ने डरले उनि अाफैले अाफ्नाे कन्चटमा गाेली हानेकाे प्रहरीकाे भनार्इ छ ।


तर प्रहरीले उनलाई गोली हान्दै लखेटेको परिवारले बताएकाे छ । पेस्तोल छाड्न भन्दा नमानेपछि प्रहरीले उनलाई गोली हानेको परिवारका आफन्तले बताएका छन् । उनको दायाँ कन्चटमा गोली लागेको छ ।

गोलीबाट ढलेका खत्रीलाई तत्काल पाटन अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याउँदासम्म उनको बाटैमा मृत्यु भइसकेको थियो । उनले दुई गोली फायर गरेकोमा एक मिसफायर भएको प्रहरीले दाबी गरेको छ । घटनास्थलमा गोलीको खोका समेत भेटिएको छ ।

प्रहरीले सुरुमा ‘इन्काउन्टर’मै खत्रीको मृत्यु भएको बताएको थियो । तर, पछि विवाद आउने देखेपछि खत्री आफैँले गोली हानेको प्रहरीको दाबी छ । एउटै घटनामा दुईथरी भनाइ आएपछि प्रहरीको भूमिकामाथि प्रश्न उठेको हो ।

२०७४ साउन २४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...