अहिलेका जनप्रतिनिधि भन्नेहरु आफ्नै सुविधा तोक्नेबाहेक केहि गर्न सक्दैनन्ः बास्तोला
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEio14tze-uBMsZ80vSlw_RrZtllYl54e-kgjG4Qy1ftHIC8K1bp3JM7cBtt2xgnrh2jhsCN7w93kqlNm_rO4H83FhabgxU5oZsivIUXrBrYbNaI6VS9JcJ33jiqGIh9mnEaBLXS50xLe7x_/s1600/Dharmendra-comred-750x461.jpg)
- काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले दलाल संसदीय चुनावबाट जितेर आउने ‘प्रतिनिधि’हरुले आफ्नै लागि सुविधा तोक्नेबाहेक अन्य केहि गर्न नसक्ने बताएका छन् ।
तेस्रो चरणको स्थानीय चरणको परिणाम आउने क्रम शुरु हुँदै गर्दा नेता वास्तोलाले दलाल संसदीय व्यवस्थाको अन्त्य नभएसम्म यो क्रम चलिराख्ने बताए ।
नेकपा निकट मगर मुक्ति मोर्चा, नेपालको केन्द्रीय समितिद्वारा राजधानीको अनामनगरस्थित संवाद डबलीमा मंगलबार आयोजित ‘जातीय मुक्ति र वैज्ञानिक समाजवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता वास्तोलाले एकीकृति जनक्रान्तिपछि स्थापना हुने वैज्ञानिक समाजवादी सत्ताले मात्र जातीय मुक्ति हुने बताए । साथै उनले क्रान्तिको झण्डामुनि गोलबन्द हुन पनि मगरलगायत सबै समूदायसँग आग्रह गरे ।
राज्यसत्ता दलाल चरित्रको भएकै कारण देशभित्र जाति र समूदाय आर्थिक, राजनैतिक र साँस्कृतिक रुपमा उत्पीडनमा परिरहेको बताउँदै त्यसलाई क्रान्तिले खारेज गरेर जनताको सत्ता स्थापना गर्नुको विकल्प नरहेको बताए । जनयुद्धले देशमा जातीय विभेदविरुद्ध चेतना फैलाएको र अन्तरजातीय विवाहको चरणमा समाज प्रवेश भएको भनाई उनको छ ।
‘बाहुन–क्षेत्रीको चुलामा दलित र दलितको चुलामा जनजाति-बाहुनक्षेत्री पस्ने वातावरण जनयुद्धले गरेको हो । तर जनयुद्ध नेतृत्व गरेका प्रचण्डले गद्दारी गरेकाले परिस्थिति उल्टिँदै गएको छ’ नेता वास्तोलाले भने । परिस्थितिलाई उल्टिन नदिन नेपाली क्रान्ति छेड्नै पर्ने उनले बताए । त्यसनिम्ति नेकपा तयार भएको बताए ।
अहिलेको राज्यप्रणाली कायम रहेसम्म संसद र कार्यालयमा बसेर गाडी सुविधा र भोगविलासका नीति बनाउने तर गाडी उत्पादन गर्ने र बिक्री गर्ने बहस गर्न नसक्ने बताए । ‘यो देशका मन्त्री साइकल चढ्छन् तर साइकल बनाउने बहस गर्दैनन् । दलाली गर्नेहरुको शासन हो याे’ उनले भने ।
संसदीय पार्टीले भन्ने गरिएको बर्जुवा समाजवाद नक्कली भएको र नेपालीलाई स्वाधीन बनाउने एउटै शासन प्रणाली वैज्ञानिक समाजवाद मात्र भएको प्रष्ट गरे । वैज्ञानिक समाजवादमा देशभित्र जातीय विभेद लुप्त भएर सबै नेपाली जाति बन्ने चर्चा गर्दै साम्यवादमा नेपाली चाहिं पहिचानको रुपमा मात्र रहने बताए । नेकपाको गन्तव्य साम्यवाद भएको बताए । देशमा आफ्नो सत्ता आफैं चलाउन जनता तयार हुनुपर्ने बताए ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHET-cqJnb4Zu_E5OoFFM3o8PE1PVIfZkrcuj7xRiUUs4uvo1I-LQRCS5F0UqKN2ck2gXLpqiPGaamV1UQVT2gYQLL8kmcUicdaHvwsmgea_mhk5pjwq_Jd2_x5u7v7gd2ZCdpCAMctef-/s1600/Nibha-saha.jpg)
कार्यक्रममा मोर्चाका अध्यक्ष गमबहादुर श्रीसमगरले ‘जातीय मुक्ति र वैज्ञानिक समाजवाद’ शीर्षकमा दुई पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । पार्टीकै स्थायी समिति सदस्य एवं पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगरले जनयुद्धले नेपाल जातीय मुक्ति दिलाउने खाका प्रस्तुत गरेपनि तत्कालीन नेतृत्वले दिएको धोका कारण शासन प्रणालीमै जातीय विभेद कायम रहेको बताए ।
वर्तमान शासन प्रणालीले समूदायविशेषका केही व्यक्तिलाई टिपेर उच्च पदमा लैजाने र सिंगो समूदायको अधिकार खाइदिने काम भएको भन्दै क्रान्ति गर्न सबै नेपाली एक हुन आग्रह गरे ।
‘गणतन्त्र’पछि पनि देशमा जातीय, क्षेत्रीय र वर्गीय विभेद झनै फस्टाउँदै गुण्डा र दलालहरुको हातमा जाने क्रम शुरु भएको ईन्चार्ज बुढामगरले बताए । त्यसलाई रोकेर जनताको सत्ता चलाउन पनि जनमुक्ति सेना अपरिहार्य भएको उनको भनाई छ ।
अन्तरक्रियामा पूर्वसांसद रामबहादुर थापामगर, ज्ञानेन्द्र पुनमगर, गौबहादुर आलेमगर, लोकबहादुर थापामगर, ध्वजबहादुर बुढामगर, धनबहादुर सुर्यवंशी मगरलगायत नेता तथा अभियन्ताहरुले नयाँ संविधानले जातीय विभेद हटाउन ठोस व्यवस्था गर्न नसकेको भन्दै नयाँ व्यवस्थाबाट मात्र विभेद अन्त्य हुने विश्वास व्यक्त गरे ।
देशले निकास खोजेको टिप्पणी गर्दै क्रान्तिले मात्र समाज समृद्ध हुने उनीहरुको धारणा छ । जातीय उत्पीडन राज्यले नै गरिरहेको भन्दै नयाँ राज्य व्यवस्था अनिवार्य भइसकेको बताए । उनीहरुले विश्व दृष्टिकोण र समाजको आवश्यकतालाई मिलाएर लैजान सकेमात्र नेपाली समाज समृद्ध हुने कुरामा जोड दिए ।
कार्यक्रममा निभा शाहले क्रान्तिकारी कविता वाचन गरेकी थिइन् ।
प्रतिकृया दिनुहोस्
Loading...