आफ्नै आधार इलाका पुग्न प्रचण्डलाई यत्रो त्रास, थवाङसंग यति धेरै आतंकित किन ?

  • इमान्दार मिडिया, समाचार टिप्पणी । 
थवाङ गाउँ पालिकाको गाउँसभा उदघाटन गर्न आफै आधार इलाका पुग्न पनि प्रचण्डलाई पुरै नेपाली सेना र नेपाल प्रहरीको सुरक्षा घेराको साहारा लिनुपरेको छ ।

जनयुद्ध कालमा आफ्नो पार्टीको मुख्य आधार इलाका मानिएको रोल्पा पुग्न प्रचण्डलाई यसरी सिंगो गृह प्रसाशनको परिचालन र नेपाली सेनाको सुरक्षाको व्यवस्था गर्नुपर्ने परिस्थिति सिर्जना हुनुले माओवादी पंतिलाई नै लज्जित बनाइदिएको छ ।

ग्रामिण इलाका रोल्पाजस्ता बिकट बस्तीका गरीबहरुको उत्थानका निम्ति सुरु गरिएको जनयुद्दका मुख्य नायक नै रहेका प्रचण्डको निम्ति आफ्नै आधारइलाकामा आकाशमा हेलिकप्टरको गस्ती, जमिनमा हजारौ प्रहरी र सेनाको सुरक्षाबलका साथ जानु निकै लज्जास्पद बिषय हो ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादी नेतृत्वका लागी रोल्पाको थवाङ यसरी आतंकको केन्द्र किन र कसरी बन्यो भन्ने प्रश्न मुख्य हो । यसले उनीहरुप्रति जनताको आक्रोश तिब्र छ भन्ने संकेत गरेको छ ।

बाहिर जति सुकै गणतन्त्रको हिमायती भएको ध्वाँस दिएपनि प्रचण्डहरु यतिबेला जनताबाट निकै टाढा हुदैछन् भन्ने प्रमाणित भएको छ। उनीहरुले हिजो तिनै रोल्पालीसंग बाँडेका सपनाहरु अलपत्र छोडेर लाजिम्पाट र सिंहदरबारका आलिशान महलमा जीवन व्यतित गर्न थालेपछि आफ्नै आधारइलाकाका जनता पनि प्रचण्डहरुका निम्ती सत्रु लाग्न थालेका छन् ।

रोल्पाको थवाङबाट आफैले बाँडेको जनवादी व्यवस्था ल्याउने सपनालाई प्रचण्ड आफैले हत्या गरेपछि आज त्यही थवाङ जान उनलाई यति धेरै हम्मे-हम्मे परिरहेको छ कि मानौ उनीहरु ठुलै विश्वयुद्द नै लड्दैछन् । यसरी आफ्नै आधारइलाका पुग्न प्रचण्डलाई राज्यको सिंगो गृह प्रसाशन परिचालन गर्नुपर्ने र आकाशमा हेलिकप्टर गस्ती नै गर्नुपर्ने अबस्था आउनुले उनीहरुभित्र भयवित र आतंकित मानसिकताले निकै ठुलो घर गरेको देखिन्छ ।

प्रचण्ड एक्लै थवाङ पुगेर फर्किन सक्छन 

गृहमन्त्री जनार्दन शर्माको सहयोगमा राज्यको प्रमुख सुरक्षाबल प्रयोग गरेर ठुलो दलबलकासाथ थवाङ पुगेका प्रचण्डलाई वास्तवमा कुनै सुरक्षा खतरा छैन । किन भने उनि आफैले देखाएको सपनाको भारी अझै बोकेर बसिरहेको छ थवाङ, जहाँका जनताले अहिले पनि प्रचण्डलाई सत्रु नै ठानीसकेका छैनन्।

प्रचण्डले थवाङ पुग्न बढी एक दर्जन आफ्ना पार्टीका कार्यकर्ता अझ त्यसमा रोल्पाकै कार्यकर्ता मात्र साथमा लिएर जाने हो भने पनि काफी पुग्छ । उनि सजिलै रोल्पाको थवाङ पुगी कार्यक्रम उदघाटन गरेर फर्किन सक्छन्। प्रचण्डलाई जनताको बिचमा जान यसरी भयवित र आतंकित भइहाल्नुपर्ने अबस्था अझै आइसकेको छैन ।

जनयुद्दको बेला जस्तो संकटकालमा समेत राज्यको नेतृत्व समालेका शेरबहादुर देउवाहरुलाई पनि यति धेरै आतंक र त्रास थिएन । उनीहरु त्यतिबेला सजिलै आफ्नो गृहजिल्ला जाने आउने गरिरहेकै थिए। एमालेका नेता माधवकुमार नेपालहरु यिनै प्रचण्डसंग वार्ता गर्न बिना सुरक्षा व्यवस्था नै रोल्पा पुगेर फर्केकै हुन् ।

अहिलेको सहज परिवेशमा प्रचण्डले थवाङ पुग्न यसरी सिंङ्गो राज्यको सुरक्षा संयन्त्र परिचालन गरेर हजारौ प्रहरी र सेनाको साथ लिनुले उनलाई जनताले तिरस्कार गरेको सन्देश गएको छ । जहासम्म भौतिक सुरक्षाको कुरा छ त्यो पनि प्रचण्डको निम्ती उनका पुत्र प्रकाशले राखेको एउटा पेस्तोल र उनका व्यक्तिगत अंग रक्षक नै काफी हुन्छ ।

थवाङमा प्रचण्डलाई केको डर ?

थवाङमा प्रचण्डलाई यति धेरै के-को डर होला त ? भन्ने प्रश्न यति बेला धेरै ठुलो प्रश्न बनेको छ । उनि शान्तिपूर्णरुपमा आयोजना गरिएको गाउँ सम्मेलनको उद्घाटन गर्न गएका हुन् । उनि कुनै युद्द मोर्चाको कमाण्ड गर्न वा लडाईको थालनी गर्न गएका हैनन् ।

उनलाई थवाङबासीसंग खासै यति ठुलो डर त्रास हुनु नपर्ने हो । यदि उनलाई थवाङसंग यत्रो डर थियो र त्यहाका जनतालाई प्रचण्ड त्यहा आउने कुरा स्वीकार्य थिएन भने उनि त्यहा जानु हुदैन थियो । यसरी राज्यको सम्पूर्ण सुरक्षा शक्तिको प्रयोग गरेर कार्यक्रम गर्नुले उनले जबर्जस्ती कार्यक्रम गरेको भन्ने अर्थ लागेको छ र त्यसले प्रचण्ड बिरुद्ध झन् नकारात्मक सन्देश फैलिएको छ।

प्रचण्डको थवाङमा आफु जसरी पनि जानुपर्ने र सेना प्रहरीको सुरक्षा घेरामा भएपनि कार्यक्रम गरेरै छोड्ने अडानले त्यहाका जनतामा पंचायतीकालको झल्को आउने अबस्था सिर्जना भएको छ । थवाङसंग जसरी उहिलेका पन्चेहरु डराउने गर्थे, राणाहरु डराउने गर्थे, त्यसरी नै प्रचण्ड डराउनुले थवाङका जनताको प्रचण्डप्रतिको बितृष्णा र आर्कोस झन् बढेर जाने देखिन्छ ।

यसरी सुरक्षा घेरामा कार्यक्रम गर्नु नै गलत 

स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि तथा गाउँपालिका अध्यक्ष बिर बहदुर घर्ती नै नेकपाको नियन्त्रणमा रहेको बेला यसरी हजारौ सुरक्षाकर्मीको घेरामा थवाङबाहिरबाट जनता केन्द्रित गरेर कार्यक्रम गर्नु नै प्रचण्डको गलत तरिका हो ।

जब उक्त गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिकै अबस्था अज्ञात छ भने त्यही गाउँपालिकाको गाउँसम्मेलनको उद्घाटन कसरी वैधानिक हुन्छ ? प्रश्न स्वाभाविक रुपमा जन्मिन्छ । यो पटकको सम्मेलन रोकेर घर्तीको रिहाइपछि मात्र भेला आयोजना गर्नुपर्थ्यो । यसले एक हदसम्म सकारात्मक सन्देश दिने थियो। तर प्रचण्डलाई शनिबार पण्डितसंग दिन हेराएर गरिने पुण्यतिथि जस्तो किन लाग्यो ?

गाउँपालिका अध्यक्षको अबस्था नै अज्ञात भइरहेको बेला तामझामका साथ सभामा सहभागी हुने जनता पनि बाहिरबाट लिनु र कडा सुरक्षा व्यवस्थाकावीच कार्यक्रम गरिनुले प्रचण्ड नियतप्रति थवाङवासी झन् सशंकित बन्नु स्वाभाविक छ । त्यसका साथै यो सभाको वैधानिकतामाथि पनि प्रश्न उठ्छ।

थवाङबासीका निम्ति उल्टै प्रचण्ड त्रासको पात्र

बिहिबार नेकपाको सम्पर्कमा पुगेका घर्तिको खोजीका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेर पनि भेटाउन नसकिएको बेला प्रचण्ड थवाङ आउँदा यतिको ठुलो सरकारी फौजको उपस्थिति र हेलिकप्टर गस्तीका कारण थवाङबासीका नजरमा प्रचण्ड त्रासको सूत्राधार बनेका छन् ।

प्रचण्ड थवाङ आउनु भन्दा पहिला महिनौसम्म घर्तिलाई न कसैले अपहरण गरेका थिए भने न कसैले बेपत्ता बनेका थिए । उनि थवाङमै थिए । रातदिन थवाङबासीसंगै थिए ।

जब प्रचण्ड थवाङ आउने निधो भयो तब घर्तिलाई नेकपाले नियन्त्रणमा लियो । श्रोतका अनुसार घर्ती सल्हामा नै नेकपाको सम्पर्कमा गएको बुझिएको छ। यस घटनाले प्रचण्डप्रति सिंङ्गो थवाङवासीको अविस्वास र वितृष्णाको संकेत गर्दैन र ? निर्वाचित जनप्रतिनिधि नै सम्पर्कबिहिन हुँदा उनले घर्तीको खोजी गर्नुपर्थ्यो । तर राज्य शक्तिको चरम दुरुपयोग गर्दै उनकै थलोमा भाषण गरेर फर्किनुले गैरजिम्मेवार नेताको परिचय दिदैन र ?  यस्ता अरु थुप्रै प्रश्नहरु जन्मिएका छन् ।

थवाङबासीलाई घर्तीको चिन्ता प्रचण्डलाई भाषण मोह

घर्तीको अबस्था अज्ञात भएपछि थवाङबासीलाई उनको चिन्ताले सताइरहेका बेला गाउँभारी सुरक्षा फोर्स तैनाथ गरियो।  संकटकालको झल्को दिने गरि थवाङको आकाश भरि हवाई गस्ती गर्दै थवाङबासिहरुलाई त्रसित बनाइयो।

यता प्रचण्डलाई भने थवाङ पुगेर एक पटक भाषण गर्ने मोहले सताईरहेको देखियो । यो नै इतिहासको सबैभन्दा हास्यास्पद बिषय बनेको छ । आफ्नै गाउँपालिका अध्यक्ष घर्तीको खोजीमा रहेको थवाङको लागी अहिले प्रचण्डको भाषण सुन्ने त्यति रहर भने थिएन । उनीहरुलाई प्रचण्डको भाषण भन्दा घर्तिको सकुसल रिहाइ महत्वपुर्ण हुन्छ ।

यस्तो बेला प्रचण्डलाई थवाङमा गएर भाषण गर्ने यति ठुलो इच्छा जाग्नु अर्को हासो उठ्दो कुरा हो । प्रचण्डले थवाङ पुगेर भाषण गर्ने रहर पुरा गरेपनि थवाङबासीले आफ्ना जनप्रतिनिधि घर्तिलाई उनले भाषण सकेर फर्किनेबेलासम्म पाउन सकेका थिएनन् ।

सिङ्गो राज्य लाग्दा पनि नभेटिएका घर्ती नेकपाद्वारा रिहा


बिहिबार रातिदेखि बेपत्ता रहेका थवाङ गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका स्थानीय नेता वीरबहादुर घर्ती शनिबार राती रिहा भएका छन् । उनि शनिबार राती पत्रकारहरुको रोहबरमा धबाङको भनभनेबाट थुना रिहा भएका हुन्।

थवाङको उवा निवासी ‘वियोग’ नामले चिनिने घर्तीलाई रोल्पा थबाङ २ स्थित ससुराली घरबाट बिहिबार नेकपाका कार्यकर्ताले आफ्नो नियन्त्रणमा लिएका थिए। 

यता राज्यको सिङ्गो सुरक्षा निकायको सबै श्रोत प्रयोग गर्दा पनि थवाङ गाउपालिका अध्यक्ष घर्तीलाई भेटाउन सकेको थिएन । उनको खोजीका निम्ति राजधानीबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारी सहितको बिशेष टोली रोल्पा गएको थियो ।

राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको थियो। सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जनयुद्धको अन्त्य र शान्ति प्रक्रिया शुरू भएपछि रोल्पाको बिशेष गाउँ थबाङ भदौ ३० गतेदेखी नया चर्चामा रहेको छ । थबाङ गाउँपालिकालाई बीचमा पारेर चारैतिरबाट शसस्त्र र जनपद प्रहरीले थवाङ्गलाई पहरा दिदै खानतलासी गर्दै गरेको स्थानीयले बताएका थिए।

घर्तीको खोजीका लागी भन्दै ३० गते बिहान नेकपाका राप्ती ब्युरो इञ्चार्ज केशबहादुर बाठामगर ‘सुभास’सहित दर्जनौं व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

रोल्पा प्रहरीले गाउपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरको खोजीको लागि स्थल हवाइगस्तीलाइ तीव्र पारेको बताएको थियो । तर पनि घर्ती भेटिएका थिएनन् ।

राज्यको त्यत्रो शक्ति लाग्दा पनि नभेटिएका घर्तीलाई अन्ततः शनिबार राती नेकपाले सकुशल रिहा गरेको छ ।

२०७४ असोज १ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...